भारत सरकारले कस्मिर घटनाबारे नेपाल सरकारलाई जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन् । ‘उहाँहरूले दिल्ली र काठमाडौंमा कस्मिरबारे आफ्नो सरकारको धारणा हामीलाई भन्नुभएको छ। खासगरी भारत सरकारले के गरेको हो भनेर’, सो जानकारीबारे परराष्ट्रमन्त्री ज्ञवालीले भने । कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहेको पनि उनले बताए । भारतको संविधानमै जम्मु—कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ । राष्ट्रपतिले त्यस्तो निर्णय कस्मिरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ । अहिले कस्मिरको विधानसभानै नरहेको अवस्थामा संविधानको भावना विपरित दिल्लीले एकलौटी अधिकार काटेको भन्दै व्यापक विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेसले सरकारले संविधानको हत्या गरेको आरोप लगाएको छ । सो निर्णय गरेदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कफ्र्यु जारी गरिएको छ । सुरक्षाकर्मीले माइकबाट मानिसलाई घर बाहिर ननिस्कन चेतावनी दिएका छन् ।




