ग्लोबल टी २० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन नै गर्न परेको छ । जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो गरी सुरू भएको थियो । आन्दोलनमा रहेका दुवै टिमका खेलाडी मैदान जानका लागि बसमा चढ्न अस्वीकार गरेका थिए। खेलाडीले होटलमै बसेर तलब नदिएको भनेर विरोध जनाएका थिए । खेलपछि आयोजकले प्रेस विज्ञप्ति नै जारी पर्नु परेको थियो । ‘मोन्टेरियल टाइगर्स र टोरन्टो नेसनल्सबीच बुधबारका लागि निर्धारण गरिएको खेल टिम र खेलाडीबीच केही प्रक्रियागत कुरा कारण ढिलाइ भएको थियो। सबै सरोकारवालाबीच बसेर समस्या समाधान भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । ग्लोबल टी २० मा नेपालका २ जना खेलाडी आबद्ध छन्। युवा लेग स्पिनर सन्दीप लामिछाने टोरन्टो नेसनल्समा ६० हजार डलर र तीव्र गतिका बलर सोमपाल कामी विन्नीपेग हक्समा ३ हजार डलरमा आबद्ध भएका थिए । खेलाडीको आन्दोलनको विषयमा टेलिभिजन लाइभ कमेन्ट्रीमा कुनै जानकारी दिइएको थिएन । ग्लोबल टी २० क्यानडाले ट्वीटरमार्फत घटना जानकारी गराए पनि खेलाडीको आन्दोलनको केही लेखेको छैन् । टोरन्टोको टिमको आन्दोनलको नेतृत्व भारतीय क्रिकेटर युवराज सिंहले गरेका थिए।


इलिमिनेटरमा पुग्न जितको आवश्यकता भएको अवस्थामा पनि टोरन्टोले तलबको विषयमा आन्दोलन गर्दै जोखिम मोलेको थियो । देखिने गरी २ टिमले आन्दोलन गरे पनि अन्य टिमले पनि खेलाडीको तलब नदिएको बताइएको छ । १०—१५ प्रतिशत तलब प्रतियोगिता अघि दिनुपर्ने र बाँकी पारिश्रमिक पहिलो चरणको खेल सकिँदासम्म दिनुपर्ने लिगको नियममा व्यवस्था छ। पहिलो चरणको खेल गत आइतबार सकिएको थियो। तर ६ वटै टिमका अधिकांश खेलाडीले अहिलेसम्म तलब पाएका छैनन् । यसअघि भ्यानक्यवर र विनिङपेग हग्सबीचको खेलअघि पनि खेलाडीले आन्दोलन गर्ने तयारी गरेका थिए। केही खेलाडीले ४५ प्रतिशत तलब पाएपछि आन्दोलन स्थगित भएको थियो। यद्यपी खेल पनि चिसो आउटफिल्डका कारण रद्द भएको थियो । कतिपय खेलाडीले गत वर्षको प्लेयर अफ दि म्याच पुरस्कार समेत पाएका छैनन् । ग्लोबल टी—२० क्यानडाको आयोजक बम्बई स्पोट्र्स लिमिटेड हो। उसले युरो टी २० स्ल्याम पनि आयोजना गर्दैछ । युरो टी २० अगस्ट अन्तिमबाट सुरू हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार