१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप बास्केटबलको बन्द प्रशिक्षणको लागि कास्कीका २ जना खेलाडी विहिबार धरान प्रस्थान गरेकाछन्। शुक्रबार देखि राष्ट्रिय बन्द प्रशिक्षण धरानमा हुने भए पछि कास्कीका सागर विक र सुदिप कार्की विहिबार साँझ पोखरा देखि धरान तर्फ प्रस्थान गरेको बास्केटवल गण्डकी प्रदेशका प्रशिक्षक प्रदीप रसाइलीले बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विक र कार्की बन्द प्रशिक्षणको लागि पहिलो चरणमा छनौटमा परेको प्रशिक्षक रसाइलीले जनाए । देश भरबाट ३२ जना पहिलो चरणमा बन्द प्रशिक्षणमा धरानमा प्रशिक्षण गर्ने भएका हुन उनीहरुबाट उत्कृष्ट १२ जना खेलाडी छनौट हुने भएकाछन्। विहिबार कास्की जिल्ला बास्केटवल संघले दुई खेलाडीलाई एक समारोहका बिच विदाई गरेकोे हो । संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक कृष्ण प्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेशका प्रशिक्षक प्रदिप रसाइलीले खादा तथा अविर लगायर खेलाडीहरुलाई बिदाई गरेका हुन्।




