तेस्रो पाँच पोखरी ट्रेल हाफ म्याराथन आगामी साउन ३० गते आयोजना हुने भएको छ । आयोजक खेलकुद बिकास समिति सिन्धुपाल्चोकले बुधबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने नारा सहित साउन ३० गते प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । यस वर्ष पनि सिन्धुपाल्चोकको पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटर दुरीमा पाँच पोखरी ट्रेल हाफ म्याराथन आयोजनागर्न लागेको आयोजकको भनाई छ । कार्यक्रमले नेपाल सरकारको सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको पर्यटन वर्षलाई र उक्त भेगाका स्थानीय बासिन्दाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । प्रतियोतिामा विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यक्तिगत गरी करिब १ सय ५५ जना खेलाडीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५०, ३० र २० हजार प्राप्त गर्ने तथा सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरुमध्ये प्रथम द्धितिय र तृतीय हुनेलाई क्रमश १५, १० र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सांसद शेर वहादुर तामाङले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागी हरेक बर्ष हाफ म्याराथनको आयोजना गर्दै आएको बताउनुभयो । उहाले खेलकूदमार्फत जिल्लामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको आयोजकले जनाएको छ । जनैपूर्णिमाको अवसरमा पाँच पोखरीमा विशेष मेला लाग्ने गर्छ । धार्मिक रुपमा महत्वपूर्ण पाँचपोखरी समुन्द्र सतहदेखि चार हजार १०० मिटरमा अवस्थित छ । सो स्थानमा पाँच धार्मिक पोखरी छन् । पोखरी विश्वकै उच्च स्थानकामध्ये नवौँमा पर्छ । एकादशीदेखि शुरु हुने मेला पूर्णिमाका दिन समापन हुन्छ । मेला अवधिभर सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट हजारौँ धार्मिक पर्यटक पाँचपोखरी पुग्छन् ।




