करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । जहाजमा डुबेका १५० जनाको उद्धार गरिएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो । लिबियामा आज भएको पानीजहाज दुर्घटनामा १५० जनाकै मृत्यु भएको पुष्टि भएमा यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना हुनेछ । हजारौं शरणार्थीले हरेक वर्ष भूमध्यसागर पार गर्ने गरेका छन् । यसमा अधिक संख्या लिबियाको शरणार्थीको छ । सन् २०१९ को पहिलो तीन महिनामा करिब १५ हजार ९ सय प्रवासी र शरणार्थीहरु तीन भूमध्यसागरको रुट हुँदै युरोप गएको बताइएको छ ।




