नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सरकारले साफ उपविजेता बनेको महिला टोलीलाई बुधबार नगदसहित सम्मानित गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगत बिश्वकर्माले नेपाली टोलीलाई जनही ३२ हजार ५ सय नगद र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुने नेपाली टोलीमा २० सदसीय खेलाडी र एक प्रशिक्षक रहेका छन् । खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रि विश्वकर्मा, राखेप सदस्यसचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देबकोटा लगायतले पुरस्कृत गर्नुभयो । गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । त्यस्तै सरकारले नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टिम नगदसहित सम्मान गरेको छ । नेपाली टोलीलाई जनही ५० लाख नगद र सम्मान पत्रले सम्मान गरेको हो । यस्तै सरकारले अफिसियललाई जनही २५ हजारले सम्मान गरेको छ । कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्माले सरकार गठन भएसंगै खेलुकद सरकारलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले खेलको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनका लागी पनि यस क्षेत्रलाई सरकारले बिशेष ध्यान दिएको धारणा राख्नुभयो । यस्तै कार्यक्रममा एथलेटिक्स खेलाडी अजितकुमार यादव र ब्याडमिन्टनका प्रिन्स दाहाल पनि नगदसहित सम्मान गरिएको थियो । अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित र प्रिन्सलाई जनही १–१ लाख नगद र सम्मानपत्रले सम्मान गरेको हो । यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई सरकारले ५० हजारले सम्मानित गर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार