राष्ट्रिय खेलकुद परिषद् राखेपको नेतृत्व सम्हालेपछि केहिदिन अघि पोखरा आएका सदस्य सचिव रमेश सिलवालले पोखरा जस्तो प्रकृतिको सुन्दर नगरीमा आर्टिफिसियल ग्राउण्ड बनाउनु उपयुक्त नहुने तर्क सहितको राय तालुक निकायमा पेश गरे लगत्तै प्राकृतिक घासे मैदान नै बनाउने निर्णय गराउन बाध्य पारेका छन् । तर, निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुज्रिँदासम्म डिजाइन फाइनल तयार नहुनु र अन्तिममा कृतिम घाँसे मैदान नराख्ने निर्णयपछि थप अन्यौलता थपिएको अधिकारीहरुले बताएका छन् । यसका कारण मंसिरमा हुने भनिएको दक्षिण एशियाली खेलकुद (साग( सम्म पनि मैदान तयार हुनेमा शंका उब्जिएको छ । २६ फागुनमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले फुटबल मैदान निर्माणको शिलान्यास गर्दा असार भित्रै काम सक्ने भनेका थिए । त्यसबेला भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिले ४ महिनामा सक्ने गरी १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता गरेका थिए ।


तर राखेपले अहिलेसम्म डिजाइन नै पास गरेको छैन । ठेकदार कम्पनीले नाली र एथलेटिक्स ट्रयाकको बेस बनाउनुका साथै कृतिम घाँसे मैदान राख्न गिट्टी विच्छाएको छ । तर पछिल्लो निर्णयपछि भने बिच्छाइएको गिटी उठाउनु पर्ने भएको छ । अब शुक्रबार बस्ने राखेपको बैठकले फुटबल मैदानको डिजाइन पास गर्ने सदस्य राजेश गुरुङले बताएका छन् । मंगिर १५ गतेबाट हुने साग खेलअन्तर्गत महिला फुटबल यही मैदानमा गर्ने तय गरिएको छ । साग सुरु हुनुभन्दा अघिल्लो महिना रंगशाला निर्माण सक्ने भनिएको छ । नयाँ बन्ने पोखरा रंगशाला १५ हजार ५ सय दर्शक क्षमताको हुनेछ । रंगशालाको चारैतिर छानासहित प्यारापिट रहने छ । मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहने छ । नयाँ बन्ने फुटबल मैदानमा विशिष्ट कक्षसहित चेन्जिङ रुम र कन्फ्रेन्स हलसमेत हुनेछ ।
-Onlinekhabar



