विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै जावलाखेल युथ क्लब ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । यस अघिको दुवै संस्करणको च्याम्पियन आर्मीलाई सडनडेथमा जावलाखेलले ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । जावलाखेलका सचु गुरुङ र सुरज गुरो पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । धिरज पुन मगर, अक्क्ष प्रधान, आशिष शाही र राम गुरुङले गोल गरेका हुन । आर्मीले सुरुवाती पेनाल्टी खेल फालेपनि दोस्रो र तेस्रोमा गोल गर्न सफल भएका थिए । चौथो पेनाल्टी चुकाएको आर्मीले त्यसपछि छैटौ पेनाल्टी पनि चुकाउदा पराजित हुन पुग्यो । आर्मीका लागि विनय चौधरी, शिव बोटे र बिशाल सुनारले मात्रै गोल गर्न सफल भए । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार