यु—१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभर मै पूरा गरेको हो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् ।


आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने । कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिए । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए । दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू—१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।



