नुवाकोटको विदुर नगरपालिकाले काठमाडौंमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हलचोकस्थित एपीएफको मैदानमा बिहिबार पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुरले विजयी सुरुवात गरेको हो । विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् । यस्तै रन्जित राई र रन्जना दर्जीले एक एक गोल गरिन् । विदुरले एक गोल आत्मघाती उपहार पाएको थियो । पनौतीका अप्सरा परियारले आत्मघाती गोल गरिन् । जितसंगै समूह ‘डी’ बाट विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

त्यस्तै बिहिबार नै भएको अर्को खेलमा विरेन्द्रनगर नगरपालिका र कावासोती नगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन् । हलचोकस्थित एपीएफको मैदानमा बिहिबार विरेन्द्रनगर र कावासोतीले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको २१ औं मिनेटमा विरेन्द्रनगरकी सम्यना शर्माले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाईन् । तर, खेलको ३८ औं मिनेटमा तिली थापाले गोल गर्दै कावासोतीलाई खेलमा फर्काईन् । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे ।


खेलको ६९ औं मिनेटमा कावासोतीकी सलिना सारुले गोल गरिन् । तर, ७३ औं मिनेटमा कावासोतीकी निरु गुरुङले आत्मघाती गोल गर्दा खेल २–२ गोलको बराबरीमा सकियो । यो बराबरीसंगै समूह ‘बी’ बाट विरेन्द्रनगरले २ खेलबाट ४ अंक जोडेको छ । यस समूहमा एक खेलेको चौदण्डी गढीको ३ र कावासोती नगरपालिकाको १ अंक रहेको छ ।



