पोखरा, जेठ ।
प्रथम पोखरा महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरबिद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्र्तगत रत्न ज्योति मावि र भद्रकालि माविले स्वर्ण पदक जितेकाछन् । शुक्रबार देखि पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिता अन्र्तगत १५ सय मिटर छात्र तर्फको दौडमा रत्न ज्योतिका किशोर आलेले स्वर्ण पदक ल्याउदा छात्रा तर्फ सोही इभेण्टमा भद्रकालि माविका सुजता बरालले स्वर्ण पदक दिलाएकी हुन् । आलेले २२ जना खेलाडीलाई पछि पार्दै निर्धारित दुरी ५ मिनेट १७ सेकेण्डमा पार गरी उद्घाटन खेलमै स्वर्ण पदक दिलाएका हुन्। त्यसै गरी ६ मिनेट ५ सेकेण्डमा उक्त दुरी पार गरेका गौरी शंरक माविका दिलिप बुढाथोकीले रजत पदक हात पार्दा भद्रकालि माविका सुरेस विकले कास्य पदक हात पारे । उनले उक्त दुरी ६ मिनेट ६ सेकेण्डमा पार गरेका हुन्।

त्यसै गरी १५ सय मिटर छात्रा तर्फको दौडमा भद्रकालिकी सुजता बरालले निर्धारित दुरी ६ मिनेट ५ सेकेण्डमा पार गरी स्वर्ण पदक दिलाएकी हुन् । ७ मिनेट ५३ सेकेण्डमा उक्त दुरी पार गरेकी गौरी शंकरकी ओममाया थगामीले रजत पदक हात पार्दा चिल्ड्रेन्स एकेडेमीकी अरपिता गुरुङले कास्य पदक दिलाइन् । उनले निर्धारित दुरी ८ मिनेट ३३ सेकेण्डमा पार गरेकी हुन् । विजयी खेलाडीहरुलाई प्रतियोगिताका संयोजक एवं पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा रंगशालामा अत्याधुनिक फुटवल मैदान सहितको फुटट्याक निर्माण हुन लागेकोले हाल उक्त खेलहरु रंगशालाको क्रिकेट मैदानमा भएको छ । उक्त प्रतियोगितामा ३८ बिद्यालयका करिब एक हजार जना खेलाडीहरु सहभागि हुने भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार उक्त प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, सितोरियो कराँते, तेक्वान्दो र कवडीलाई मात्र समेटिएको छ । प्रतियोगितामा १८ बर्ष मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र/छात्राले मात्रै सहभागि भएको महानगरका शिक्षा महाशाखाका गंगा बहादुर गुरुङले बताए ।

यस अघि जिल्ला खेलकुद विकास समितिले आयोजना गर्दै आएको उक्त प्रतियोगिता देश संघीय संरचनामा गएसंगै महानगरले पहिलो पटक उक्त प्रतियोगिता गर्न सुरुगरेसंगै थुप्रै कमि कमजोरीका बाबजुत उद्घाटन सत्र सम्पन्न भएको छ । शुक्रबार पोखराको ३५ डिग्रिसम्मको तापक्रममा घण्टौंसम्म खेलाडीहरुलाई खुल्ला चौरमा मार्च पास र विभिन्न खेलमा सहभागि गराउने भन्दै प्रयाप्त पिउने पानी पनि नदिइ कार्यक्रम संचालन भएको थियो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले विहान करिब ११ः३० बजे कार्यक्रम स्थमा आउदा मञ्च नै व्यबस्थित नहुदा आफै मञ्च व्यबस्थापन गर्न कसिएका थिए । अन्य अथिति र खेलाडीहरुलाई ११ बजेको निम्तो दिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने करिब ढेड घण्टा ढिलो सुरु भएको थियो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै स्वस्थ व्यक्ति र स्वस्थ राष्ट्र सहितको समृद्ध राष्ट्र निर्माणको निम्त्ति खेलकुद आवश्यक भएकोमा जोड दिए । अभिभावक तथा बिद्यालयहरुले खेलको महत्व बुझेर बिद्यार्थीहरुलाई पढाइको साथमा खेलकुदमा लाग्न उनले आग्रह गरे । प्रदेश सरकारले खेलकुदको विकासको लाग अत्याधुनिक खेलकुद एकेडेमी स्थापना गर्ने योजना रहेको जनाए । उक्त कार्यक्रमको उद्घाटन पश्चात १५ सय मिटर दौड तत्काल सुरु गर्ने भनि तयारी गरिने पनि करिब ३० मिनेट भन्दा बढी समय खेलाडीहरुलाई उभ्याइएको थियो । अपिसियलहरु छातको सहायताले गर्मी छल्दै थिए भने खेलाडीहरुलाई पिउने पानीको समेत राम्रो व्यबस्थापन नभएको खेलाडी एवं बिद्यालयहरुले गुनासो गरेकाछन्। खेल सुरु हुनु भन्दा धेरै अगाडी नै वोलायर खेलाडीहरुलाई प्रचण्ड गर्मीमा सास्ती दिएको खेलाडीहरुले गुनासो गरेकाछन्।




