पोखरा, वैशाख ।
विश्व स्वच्छ व्यवसाय दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाईएको हो ।


दिवसका अवसरमा स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै स्थानिय सरकारका प्रमुख एंव स्वच्छ व्यवसायका अभियान्ताहरुले व्यावसायीक मर्यादा र जवाफदेहितामा जोड दिएका छन् ।

यो क्रियाकलाप स्वच्छ व्यावसायिक साझेदारी हो, जुनसंवाद, पारदर्शिता तथा सम्मानमा आधारित हुनाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा सम्बद्ध छ । यसले विकासशील देशका सीमान्तकृत उत्पादक तथा किसानको अधिकार सुरक्षित गरी राम्रो व्यावसायिक वातावरणबाट दिगो विकासमा सहयोग गर्दछ ।

सत्तरीभन्दा अधिक देशमा व्यावसायिक संस्थाको छाता सङ्गठनहरुले यस्लाई विश्वव्यापी अभियानको रुपमा मनाईरहेका छन् । यो अभियान अन्तर्गत विकासोन्मुख मुलुकमा रोजगारी सिर्जना एवं निर्यात प्रवद्र्धन, निम्नवर्गीय उत्पादकको आर्थिक एवं सामाजिक उत्थान मार्फत गरीबी न्यूनीकरणमा समेत सहयोगी भएको स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष चित्र बहादुर केसिले बताए ।

यो सङ्गठन विभिन्न देशमा छरिएर रहेका स्वच्छ व्यवसायीलाई एकतामा आवद्ध गर्ने एउटा अन्तर्राष्ट्रिय संस्था हो । यसमा नेपालका विभिन्न २६ वटा संस्थाहरु सदस्य छन् । पोखराका चिल्ड्रेन नेपाल, महिला सीप विकास केन्द्र र सुर्यमुखी हस्तकाल उद्योग पनि यसको सदस्य बनेको छ । विश्व स्वच्छ व्यवसायी सङ्गठनले स्वच्छ व्यवसाय सञ्चालनमा आर्थिक रुपले पिछडिएका उत्पादकका लागि अवसर सिर्जना गर्ने, सम्बन्धित सबै पारदर्शी तथा जिम्मेवार हुने र स्वच्छ व्यवसायको अभ्यास गर्ने लगायतलाई प्रोत्साहन गर्ने गरेको छ ।

त्यसो त पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसिले व्यवसायीहरुका बिचको अस्वस्थ प्रतिष्पर्धाका कारण व्यवसाय विकास तथा विस्तारमा असर परेको बताए । राज्यको वेवास्ताका कारण मुलुकका कयौन गौरवका उद्योगहरु रुग्न बन्न पुगेका प्रति भने उनले चिन्ता व्यक्त गरे ।

यस्तै गण्डकी पदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मुलुक विकासका सम्भावनाहरुको पहिचान गरि आत्मनिर्भर व्यवसाय विकासमा जोड दिए । नेपाललाई सुनको थाल भनेका उनले नेपालीहरु मगन्ते जसरी भौतारी रहनु निकै चिन्ताको विषय भनि टिप्पणी गरे । जल जमिन र जंगलका कयौन सम्भावनाहरुको खोजि गरि स्वच्छ व्यवसाय मार्फत आत्मनिर्भरता र आत्मसम्मानका साथ जिवनयापनमा उनले जोड दिए । उनले सन् १८२६ को सुगौली सन्धी पछि नेपाल विकासको मौलिक गतिमा अगाडी बढ्न नसकेको उनले उल्लेख गरे ।

तर, विश्व स्वच्छ व्यवसायी सङ्गठनले उचित ज्याला भुक्तानी दिने, बालश्रम तथा जबरजस्ती श्रम नभएको सुनिश्चित गर्ने र भेदभाव रहित, काम गर्ने स्थलमा राम्रो वातावरण सुनिश्चितता र क्षमता अभिवृद्धि गर्ने आधारभूत सिद्धान्त प्रतिपादन गरेको छ । सन् १९९६ मा स्थापना भएको यो समूहको नेपाल पनि सदस्य भएको र नेपालबाट हस्तकलाका वस्तुमा हुने कूल निर्यातमा सदस्य संस्थाको योगदान करीब २० प्रतिशत रहेको छ ।




