काठमाण्डौ, वैशाख ।
बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीले यस्तो जानकारी गराएको हो । बुद्ध पावर कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिनाले आफूहरुले उक्त प्रतिवेदन, अनलाईन मापन केन्द्र उर्जामन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाले मौसम मापन स्थल (केन्द्र) र उन्नत वायु तथा सौय (केन्द्र) मुस्ताङ जिल्लाको जोमसोमस्थित् जिल्ला प्रहरी कार्यालयमा राखिएको पनि जानकारी दिनुभयो ।

तत्कालिन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१७ को अगष्टमा उद्घाटन गरेको उक्त उन्नत वायु तथा सौर्य (केन्द्र) ले प्रहरी कार्यालयलाई प्रशस्त पुग्ने विजुली उत्पादन गरिरहेको पनि तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी, मौसम मापन स्थल (केन्द्र) सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धि रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र युरोपको स्पेनमा रहेको कम्प्युटरमा समेत संकलन भइरहेको उहाले बताउनुभयो ।
उहाले पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूला–साना यस्ता परियोजना सञ्चालन गर्न सकिने विश्वास दिलाउनुभयो । आफूहरु नेपालका अरु थुप्रै दुर्गम जिल्लामा १० वटा अनलाईन मौसम मापन केन्द्र बनाउन तयार रहेको समेत उहाले बताउनुभयो ।




