काठमाण्डौ, वैशाख ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागी थप करिव ४२९ अर्व रुपैया रकम आवश्यक पर्ने जनाएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे प्राधिकरणले थप रकमका लागी अर्थमन्त्रालय र दातृ निकायहरुसंगको छलफलमा रहेको पनि जनाएको छ । प्राधिकरणले पुनर्निर्माण र पुर्नस्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको जानकारी गराएको छ ।

यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । उहाले अहिलसम्म निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिनुभयो । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेको ज्ञवालीले बताउनुभयो । यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको ज्ञवालीले बताउनुभयो । स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको उहाको भनाई छ ।
प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको भन्दै ज्ञवालीले भूमिहीन, स्ववासीलगायतको समस्या पनि समाधान गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।




