पोखरा, वैशाख ।
विश्व सम्पदाको संरक्षण तथा थपविकासका खातिर नयाँ पुस्तालाई जागरुक बनाउन १८ अप्रिलका दिन यो दिवस मनाउने तयारी गरिएको छ । नेपालमा पनि यो दिवस सम्पदा संरक्षणका विविध विषयमा जनचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको अभियान्ताहरुले बताएका छन् । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था बीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ ।


विश्वभर रहेका प्राचिन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) नामक राष्ट्रसंघीय निकायले विश्व सम्पदाको सूचिमा राख्ने गरेको छ । तसर्थ नेपालका पनि विभिन्न सांस्कृतिक र प्राकृतिक सम्पदाहरु विश्व सम्पदामा सूचीकृत भएका छन् । ती सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका हुन् । विश्व सम्पदा दिवसका अवसरमा उपत्यकाको मुख्य सात सम्पदा र अन्य सम्पदा क्षेत्रमा पनि विभिन्न चेतनामुलक गतिविधीहरु गरिन्छ ।
१९ औं सताब्दीमा पहिचानमा आएको नेपालको पुर्वी पहाडी जिल्ला सोलुखुम्बुमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वव्यापी सम्पदाका रुपमा परिचित छ । यहाँ विश्वकै अग्लो हिमाल सगरमाथा सहित ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम, थोमसेर्कु वरिपरिको हिमक्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समेटिएर रहेको छ । यसको क्षेत्रफल ११४८ वर्ग किलोमिटर रहेको छ । यस निकुञ्ज क्षेत्रमा कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल जस्ता वन्यजन्तु पाइन्छन् । रुपन्देहीमा रहेको लुम्बिनी अर्को ऐतिहाँसिक सम्पदा क्षेत्र हो । यो सम्पदा इशापूर्व ६२३ अर्थात पाँचौं सताब्दीताका गौतम बुद्धको जन्मथलोका रुपमा अस्तित्वमा आएको हो । यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ र शाक्य पुष्करिणी तलाउ रहेकाछन् । चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताका लागि कहलिएको सम्पदा क्षेत्र हो ।
यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्र मध्येको महत्वपुर्ण क्षेत्र हो । यो नेपालको सवैभन्दा पहिले घोषणा गरिएको राष्ट्रिय निकुञ्ज पनि हो । सन् १९७३ मा स्थापना भएको यस निकुञ्ज विश्वमै दुर्लभ जनावरहरु एकसिंगे गैंडा, पाटे बाघ र घडियाल गोहीका कारण प्रख्यात छ । यहाँ अन्य वन्यजन्तुका साथै सयौं प्रजातिका वनस्पतिहरु रहेकाछन् । चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस्तै काठमाडौं उपत्यका अर्को विशेष सम्पदा क्षेत्र हो । यहाँका प्राचिन कलात्मक मठमन्दिरहरु हेर्न विश्वभरबाट बर्षेनी लाखौं पर्यटकहरु आउने गर्दछन् । काठमाडौं उपत्यकाका नामले भक्तपुर र ललितपुर जिल्ला समेत समेटिएको यो क्षेत्र नेपालकै ऐतिहाँसिक र साँस्कृतिक शहर हो । यस सम्पदा क्षेत्रभित्र काठमाडौं उपत्यकाका तीनवटा ऐतिहाँसिक दरवार, दुईवटा बौद्ध स्तुप र दुईवटा हिन्दू मन्दिर सहित सात स्मारक क्षेत्र छन् ।
यस अन्तरगत काठमाडौंको केन्द्र भागमा पर्ने दरवार क्षेत्र, कलाको शहरका रुपमा चिनिएको पाटन दरवार, गोपाल वंशावलीमा उल्लेखित भक्तपुर दरवार क्षेत्र, विश्वभरिका हिन्दूको पवित्र पुण्यस्थल श्री पशुपतिनाथ महादेव मन्दिर, उपत्यका पश्चिम रहेको पद्मकण्ठगिरि पहाडको थुम्कोमा अवस्थित लिच्छवीकालिन अति प्रसिद्ध स्वयम्भूनाथ, दक्षिण एसियाकै ठूला स्तूपमध्येको एक ३६ मिटर अग्लो बौद्धनाथ स्तूप र निर्माण सम्बन्धि अहिलेसम्म कुनै तथ्य फेला नपरेको भगवान विष्णुको मन्दिरका रूपमा परिचित चाँगुनारायण मन्दिर सम्पदा क्षेत्रका मुख्य आकर्षण हुन् ।


काठमाडौं उपत्यका भित्रका यी सम्पदाहरु सन १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका थिए । सन् १९९६ र त्यसयता नेपाल सरकारले थप १५ वटा राष्ट्रिय सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न युनेस्कोसँग माग गरेको छ । यसरी प्रस्तावित सम्पदाहरुमा पनौतीस्थित मध्यकालीन वास्तुकला क्षेत्र, प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिलौराकोट दरबार, मुस्ताङ जिल्लाको मुक्तिनाथ उपत्यका र आसपास रहेका गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार, रामग्राम, खोकना, लोमान्थाङ, बज्रयोगिनी मन्दिर क्षेत्र र साँखुका मानव बस्तीहरु, कीर्तिपुरको मध्यकालीन मानव बस्तीहरु, रूरू ऋषिकेश क्षेत्र, नुवाकोट दरबार क्षेत्र, रामजानकी मन्दिर, तानसेनको मध्यकालीन नगर, सिंजा उपत्यका र दैलेखको भुर्ती मन्दिर क्षेत्र रहेका छन् ।
बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् । यूनेस्कोले कुनै पनि राष्ट्रमा अवस्थित विशेष साँस्कृतिक महत्व राख्ने यस्ता सम्पदाहरुलाई विश्व सम्पदा समितिको बैठक मार्फत सूचीबद्ध गर्दै आएको छ । यस्ता सम्पदाको संरक्षणका लागि समेत युनेस्कोले सहयोग पुर्याउँदछ । सम्पदाहरुको संरक्षणको मुल उदेश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहाँसलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु पनि हो । यसैविच विश्व सम्पदा दिवसको अवसरमा पोखरामा पुरातात्विक सम्पदा क्षेत्रमा पैदलयात्रा गरिने भएको छ । राष्ट्रिय सम्पदा संरक्षण समितिको अगुवाई तथा पोखरा महानगरपालिका वडा नं.२,३ र ४ को आयोजनामा पोखराको गोपालजि मन्दिरदेखी विन्दावासिनी सम्म पैदल यात्रा गर्ने तयारी गरिएको हो ।
पोखरामा आयोजित चियापान कार्यक्रममा बोल्दै वडा नं.२ का वडा अध्यक्ष रामेश्वर मल्लले सम्पदा संरक्षणका लागी आगामी बजेटमा छुट्टै व्यवस्था गरि विकास गरिने बताए । वडामा रहेका धार्मीक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा स्थानिय सरकार पुर्ण प्रतिवद्ध रहेको उनले बताए । यस्तै वडा नं. ३ का वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले संरक्षणको जिम्मा पाएका समुह तथा समितिहरुले ति सम्पदाहरुको ख्याल नगरे खारेजी सम्मको कार्वाही गरिने चेतावनी दिए । उनका अनुसार पोखरा धार्मीक रुपमा समेत महत्वपुर्ण मठमन्दिर तथ धार्मीक क्षेत्र भएको स्थान भएका कारण ति सम्पदाहरु संरक्षणको जिम्मा लिएका समुह तथा समितिहरु भुमिका नतिजाउन्मुख देखिएको छैन् ।
वडा नं. ४ का वडा अध्यक्ष शंकरप्रसाद बाँस्तोलाले पोखरामा रहेका सयौ वर्ष पुराना सम्पदाहरुको संरक्षणका लागी महानगरपालिकले व्यवस्थित योजना बनाएर आगाडी बढ्नु पर्ने उल्लेख गरे । स्थानिय सरकारहरुको चिन्ता र चासो यस तर्फ जानु जरुरी रहेको उनले बताएका छन् । तर, अभियान्ताहरुले भने लोपोन्मुख स्थितीमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागी नागरीकहरु समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार