काठमाण्डौ, ०५ चैत्र ।
राष्ट्रियसभा बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मंगलबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई सर्वसम्मतिका साथ पारित गर्दै समितिमा पठाएको हो ।


बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । त्यसैगरी युवा तथा खेलकूदमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
त्यस्तै बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले उक्त बिधेयक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त बिधेयकमाथि सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिदै अर्थमन्त्री खतिवडाले लगानीको सम्बन्धमा कुनै विवाद भए न्यायप्रणालीबाट समाधान खोज्ने बताउनुभयो ।
त्यसअघि बैठकको बिशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई सरकारसँग सौहार्दपूर्ण वार्तामा आई राजनीतिको मूलधारमा आउन आग्रह गर्नुभयो । उहाँले अहिलेको सन्दर्भमा हिंसा, आतङ्क र विद्रोहले शान्ति र समृद्धि प्राप्त हुन नसक्ने भएकाले संविधानअनुरुप जनमतका लागि जनतामाझ जान अनुरोध गर्नुभयो ।
त्यस्तै सांसदहरुले दैनिक उपभोग्य कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढेकामा चिन्ता व्यक्त गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक ८ गते बोलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार