काठमाण्डौ, ३० फाल्गुन ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथि दफावार छलफल भएको छ ।
बैठकमा सांसदहरुले बिधेयकमा रहेको बिदेशी लगानी भित्राउने सम्बन्धमा उल्लेख गरिएका दफाहरुका बारेमा समेत धारणा राखेका थिए । त्यस्तै घरेलु तथा साना उद्योगमा वैदेशिक लगानी आवश्यक नभएकोमा उनीहरुले जोड दिए । बैठकमा सांसद गगन कुमार थापाले विदेशी लगानी स्वीकृत गर्ने बिषयमा बिधेयकमा स्पष्ट हुनुपर्ने बताउनुभयो । विदेशी लगानी स्वीकृत गर्ने प्रक्रिया निकै झण्झटिलो भएपनि अहिलेको विधेयकले यसलाई सम्बोधन गर्न नसकेको उहाले बताउनुभयो ।


त्यस्तै उहाले नेपालमा लगानी गर्न चाहनेलाई सहज बातावरण निर्माण गर्नुपर्ने तर्क गर्नुभयो । बैठकमा सांसद सोमप्रसाद पाण्डले बिगतको ऐनमा भएको नराकात्मक पाटोलाइ हटाउनुपर्ने बताउनुभयो । उहाले मुलुकको हितमा जनताले नेपालमा गर्न सक्ने साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । नेपालका साना उद्योगीको हित विपरित विदेशी लगानीलाई प्रोत्साहन गर्न नहुने उहाको भनाई छ ।
उक्त बिधेयकमाथि केहि सांसदहरुले संशोधन समेत दर्ता गराएका छन् । बिधेयकमा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्ता लगानीकर्ताले नेपालमा स्थापना भएका कुनै उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्मको शेयर खरीद गरेर पनि लगानी गर्न सक्नेछन् ।
लगानी मात्रै नभई प्रविधि हस्तान्तरण गर्ने विषयसमेत समेटिएको सो विधेयकमा विदेशमा स्थापना भएका उद्योगको शाखा खोल्नसमेत सकिने व्यवस्था छ । त्यस्तै आयातित कृषि उपजमात्र नभई सिधै बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ नै ल्याएर यही उत्पादन गर्न पाउने व्यवस्था पनि बिधेयकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार