विराटनगर, २८ फाल्गुन ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल हेरफेर हुनसक्ने संकेत गर्नुभएको छ ।
विराटनगर विमानस्तलमा आज सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले मन्त्री मण्डलमा हेरफेरका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग बालुवाटारमा आज बिहान छलफल भएको वताउनुभयो । उहांले सरकारको कार्यलाई द्रुतगति दिन यस सम्वन्धमा चर्चा भएको वताउदै यद्यपी यो प्रधानमन्त्रीको अधिकार क्षेत्र भित्र रहेको प्रष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले विगत एक वर्षको अवधिमा सरकारको कार्य सन्तोजनक रहेको वताउदै यस वीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानून लगायतका थुप्रै कार्य गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशको अधिकार खोस्ने कार्य संघीय सरकारले गरेको भन्ने आरोप गलत भएको वताउदै संविधानमा प्रष्ट उल्लेख भए अनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले पृथकतावादी र अलगाववादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको विचार व्यक्त गर्नु भयो । उहाँले सिके राउतसंग मुलुकको संविधान स्विकार गरि राष्ट्रिय राजनीतिमा आउने भएको ११ वुंदे संझौतामाथि शंका नगर्न सवै राजनैतिक दललाई आग्रह गर्नु भयो ।
पार्टी अध्यक्ष दाहालले वर्तमान सरकारले सिके राउतलाई राष्ट्रिय राजीनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमती रहेको प्रष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री ओलीसंग आज विहान पार्टी एकतालाई अन्तिम रुप दिन वालुवाटरमा छलफल भएको वताउदै आगामी एक÷दुई दिन भित्र यसको टुंगो लाग्ने जानकारी दिनु भयो ।




