पोखरा, २२ फाल्गुन ।
पोखरा प्रवेशको मुख्यद्धारका रुपमा लिईने विजयपुर खोला माथीको पुलमा समस्या देखिएपछि मर्मतको काम थालिएको छ ।
एक दशक भन्दा पहिले निर्माण सम्पन्न भएको उक्त पुलको बिचभागमा रहेका बिमहरुमा समस्या (डिफेक्ट) देखिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए ।


केहि दिनदेखी जारी मर्मतको काम नसकिन्जेल सम्म १० टन भन्दा माथिका हेभि लोडेड सवारीहरुलाई पुलमा आवतजावतका लागी निषेध गरीएको पोखरेलले बताए ।
फलामे प्रविधिमा निर्माण गरिएका यस्ता खाले पुलहरुमा सामान्य समस्या देखिनु स्वाभाविक भएपनि समयमा नै मर्मत गरे जोखिम छल्न सकिने उनले बताए ।
बिमको पाटा फेर्दा केही समय पुल बन्द गर्नुपर्ने भएपनि लामो समय नरोक्ने गरि कार्य अगाडी बढाईने पोखरेलको भनाई छ ।
उनका अनुसार कम लागतमा पुल मर्मतको काम गरिने छ । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशका लागी पृथ्वीराजमार्ग अन्तरगत विजयपुर खोला माथीको पुल एक मात्र पुल हो ।



