पोखरा १८, फागुन ।
महाशिवरात्री पर्वको अवसरमा शिवका भक्तहरुको लागि बिषेश पुजा गर्नको लागि पोखरामा २२ फुट अग्लो शिव लिङगको प्रतिमा तयार पारिएकोे छ । पोखराका एक पुष्प व्यवसायी एवं मुर्तिकार ४९ बर्षीय हिरालाल तामाङ (लामा दाई) ले ७० वटा वासबाट, माटो र सिमेन्ट अक्साइड प्रयोग गरी २२ फुट अग्लो शिव लिङग निमार्ण गरेका हुन्। उक्त शिव लिङग निमार्णको लागि साँढे दुई लाख खर्च गरिएको हो ।


पोखरामा पहिलो पटक उक्त शिव लिङग निमार्ण भएसंगै शिवका भक्तहरुलाई फागुन २० गते शिवरात्रि पर्वको अवसरमा पोखराको प्रदर्शनीकेन्द्रमा उक्त शिव लिङग राखिएको हो । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ को अवसरमा उक्त शिव लिङक निमार्ण गरिएको आयोजक सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले बताए । मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद आकारको शिवलिंगको प्रतिमा तयार पारिएको उनले जनाए । शिवरात्रिका अवसरमा शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको तिमिल्सिनाले बताए ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै महोत्सव दुई दिन पछि सारिएको अध्यक्ष तिमिल्सिनाले बताए । सातौं संस्करणको उक्त महोत्सव यही फागुन १९ देखि २७ गतेसम्म चल्ने भएको छ । महोत्सवमा १ सय ३० वटा स्टल रहनेछन् । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु रहनेछन् ।
उक्त अवसरमा इन्फोटेक मेला समेत हुने भएको छ । उक्त मेलामा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए ।
इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिरहेको छ । तालिममा २१ जना सहभागी छन् । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहनेछन् । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । ‘सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु¥याउनेछौं,’ उनले भने ।



