पोखरा, १६ फाल्गुन ।
स्थानिय सरकारका रुपमा अधिक विश्वास गरिएको पोखरा महानगरपालिकाको सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीहरु तुलनात्मक रुपमा बेखुसी देखिएका प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कार्यालयको सेवा ग्रहण प्रश्चात वर्हिगमन अभिमत सर्भेक्षणका आधारमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले सदाचार प्रतिवद्धताको कार्यान्वयनमा महानगरपालिका कमजोर देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल र सुशासनका लागी नागरीक समाज (सुनास) कास्कीद्धारा सार्वजनिक प्रतिवेदन महानगरको जवाफदेहिता, पारदर्शिता, सदाचार र सेवा प्रवाह गुनासो व्यवस्थापन र खरिद प्रक्रिया तथा कानुनी शासन प्रतिको प्रतिवद्धता लगायतका विषयमा आधारित रहेको प्रतिवेदन प्रस्तुतकर्ता प्रा.डा.विकास केसिले बताए ।
जवाफदेहिता, पारदर्शिता र सदाचार प्रवद्र्धनका लागी पोखरा महानगरपालिकाले गरेको प्रतिवद्धता अनुरुप कार्य भए नभएको बारे सेवाग्राहीहरुको अनुभव अध्ययन गर्ने हेतुले गरिएको उक्त सर्भेक्षणमा महानगरपालिका पुर्ण जवाफदेहि नपाईएको सुनास कास्कीका पुर्व अध्यक्ष एंव सदाचार अभियान्ता पुण्य पौडेलले बताए ।


सर्भेक्षणका क्रममा अधिकांस सेवाग्राहीहरुले महानगरका कर्मचारीहरुको कार्यशैली, प्राविधिक क्षमता र नियत माथी नै शंका व्यक्त गरेका अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, महानगरका प्रमुख मान बहादुर जिसीले भने प्रतिकात्मक रुपमा कुनैपनि कर्मचारीहरुमा शुभलाभको संकेत वा नियत फेला परे महानगरको माथिल्लो निकायमा जानकारी दिन आग्रह गरेका छन् ।

सदाचार तथा सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी नेतृत्वमा रहेको बताएका उनले महानगरको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको आचारणको बारे समेत सर्भेक्षण गर्न चुनौती दिए ।
महानगरलाई समृद्ध बनाउन निष्ठाका साथ लागेको बताएका उनले सेवा प्रवाहमा कुनै प्रकारको अनियमितता स्विकार्य नहुने ठोकुवा समेत गरे । नेतृत्वको सिरानी हाल्ने प्रवृतिलाई बढवा दिने संस्कारको चर्को विरोध गर्नुपर्नेमा उनले जोड दिए ।

तर, जवाफदेहिता र पारदर्शिताका खातिर सदाचार प्रतिवद्धताको पुर्ण कार्यान्वयनमा गम्भिर बन्न सरोकारवाालहरुले सुझाएका छन् ।



