काठमाण्डौ, २४ माघ ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मुलुकको विदेश नीति सुदृढ हुँदै गएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनवाई समितिमा राजदूतहरुको समावेशी विषयमा भएको छलफलका क्रममा उहाले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने बताउनुभयो ।
मन्त्री ज्ञवालीले कुल ३३ स्थानमा राजदूत राख्ने व्यवस्था रहेकोमा हाल २८ स्थानमा राजदूत रहेको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले राजदूत नियुक्तिमा ५० प्रतिशत करियर र ५० प्रतिशत राजनीतिक नियुक्ति हुने गरेको जानकारी पनि दिनुभयो । जसमध्ये अहिले राजनीतिबाट १३ जना र करियरबट १५ जना राजदूत रहेको जानकारी दिनुभयो ।

राजनीतिक नियुक्तितर्फबाट समावेशी गर्ने प्रयास भए पनि करियरबाट समावेशी समूहका व्यक्तिहरु हुन नसकेको मन्त्री ज्ञवालीले दाबी गर्नुभयो । अहिले कुटनीतिक कुरा, भाषा, तालिम लगायतका विषयलाई ध्यानमा दिएर राजदूत नियुक्ति हुने गरेको बताउँदै मन्त्री ज्ञवालीले उनीहरुलाई सन् २०२२ बाट नेपाल अल्प विकसितबाट विकासोन्मुख राष्ट्रमा जान तयार रहेको कुरालाई ध्यानमा राख्न भनिएको बताउनुभयो ।
त्यसैगरी, नेपाली डायस्पोरालाई सहयोग गर्न र बैदेशिक रोजगारका विषयमा ध्यान दिन अहिलेका राजदूतहरुलाई निर्देशन दिइएको मन्त्री ज्ञवालीलले बताउनुभयो । बैठकमा समिति सदस्यहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै आलोचना गरेका थिए ।




