पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक स्थित नेपाली कम्युनिष्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवन सहित ४ रोपनी जग्गा फिर्ता गरेको छ ।
महानगरपालिका र उपत्यका नगर विकास समितिको ३५ दिने सूचना बमोजिम ट्रेड युनियन २०६७ सालमा करिब १ करोड ५३ लाख लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी शनिवार महासङ्घका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा गौतमले श्रमिकहरूको पसिनाले बनेको उक्त भवनको पूर्ण रूपमा सदुपयोग गर्न सुझाव समेत दिनुभएको छ ।
 
भवनको चाबी बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुवातका रूपमा उल्लेख गर्नुभयो । उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढङ्गले भवनको चाबी बुझाएको महासङ्घ प्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति वा संघसंस्थाहरुलाई समेत तत्काल खाली गर्न अनुरोध गर्नुभयो ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले भोग चलन गर्दै आइरहेका छन् । पोखराको पृथ्वी चोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडी बढेकाले सो क्षेत्र सहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद शनिवार सकिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार