पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समिति बिच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने गरी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीको तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गर्नुभएको छ ।
दुपैपक्ष बिच आपसमा खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू बिच भ्रमण आदानप्रदान, पोखराका खेलकुद र खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले उक्त समझदारी गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
“फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथलेटिक्स, म्याराथन लगायत खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ ।” यस मार्फत पोखरेली र कोरियाली खेलाडीहरूबिच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्न समेत सहज हुनेछ ।

चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताउनुभयो । युवा खेलाडीहरू आदानप्रदान, विद्यालय स्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगर भित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल सामाग्रीहरू सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्पूर्ण रहेको उहाँले बताउनुभयो ।

सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बिचमा पनि भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष एवं महानगरको खेलकुद विकास समितिका संयोजक तोरण बहादुर बानियाँ लगायतले समझदारी पोखराका खेलाडीहरूको अन्तर्राष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।



