पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सोसँग सम्बन्धित विषयक दुई दिवसीय क्षमता विकास तालीम सुरु भएको छ । सोमबारदेखि सुरु भएको तालिम मङ्गलवारसम्म चल्नेछ ।
पोखरा महानगरपालिकाद्वारा आयोजित तालिमको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले तालिम मार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ का सम्बन्धमा अन्योल र द्विधा रहेका विषयमा स्पष्ट हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । “ऐनमा एक खालको व्यवस्था गरिएको छ, त्यसको मर्म र भावना बुझ्न नसक्दा कार्य सम्पादनमा समस्याहरू आएका छन्, प्रमुख आचार्यले भन्नुभयो, यो तालिम मार्फत तपाईँ हामी सबैलाई यसका अस्पष्टताहरूको अन्त्य गर्न सहयोग पुग्नेछ ।” स्थानीय जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारका बारेमा थप बुझ्ने अवसर सहित पुर्नताजकी प्रदान गर्न यस प्रकारको तालिमको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
उपप्रमुख मन्जुदेवी गुरुङले स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधिहरूलाई आफ्ना अधिकार र कर्तव्यका बारेमा तालिमले थप सुसूचित गर्ने बताउनुभयो । उहाँले यस्ता प्रकारका तालिमहरूलाई आपसमा अनुभव आदान प्रदान सहित नयाँ कुराहरू समेत सिक्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । आफ्ना कार्यहरूलाई थप प्रभावकारी बनाउँदै जनअपेक्षा अनुसारका कामहरू गर्न थप प्रेरणा हासिल गर्नका लागि पनि यस प्रकारको तालिम आवश्यक पर्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सम्बन्धित विषयहरूको बारेमा ज्ञान हासिल गर्ने, सङ्घीय शासन प्रणालीमा तहगत अन्तरसम्बन्ध बारे जानकारी दिने, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको काम, कर्तव्य र अधिकार सूची तयार गरी वडा समितिका काम, कर्तव्य र अधिकार बारे प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
यस्तै योजनाको अवधारणा, प्रकार, चरणहरू वडा स्तरमा गरिने योजना तर्जुमाको प्रक्रिया अवलम्बन, स्थानीय तहको वार्षिक बजेट तथा वित्त व्यवस्थापन, स्थानीय तहमा न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्र, स्थानीय तहमा सूचनाको हकको महत्त्व लगायतका विषयमा जानकारी दिने उद्देश्य तालिमले राखेको अधिकृत थापाले बताउनुभयो ।
तालिममा प्रशिक्षकहरू नेपाल सरकारका पूर्व सचिव एवं कानुनविद् काशीराज दाहाल र स्थानीय शासन विज्ञ डा.सीता ढुङ्गानाले प्रशिक्षण दिनुहुनेछ । तालिमको पहिलो चरणमा ११ वडाका कार्यपालिका सदस्य सहित जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको छ । दोस्रो चरण थप ११ वडाका कार्यपालिका सदस्य सहित जनप्रतिनिधि र कर्मचारीहरूका लागि यही माघ १९ र २० तथा तेस्रो चरण बाँकी ११ वडाका कार्यपालिका सदस्य सहित जनप्रतिनिधि र कर्मचारीहरूका लागि माघ २१ र २२ गते तालिम सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार