गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा १ मकै सीङको प्रजाबस्ती आधारभूत विद्यालयमा १३६ चेपाङ विद्यार्थी अध्ययनरत छन् । बाक्लो चेपाङ बस्ती बिच रहेको यस विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ ।

विद्यालयले आइतबार ४१ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै सभामुख कृष्ण धितालले गाउँका विद्यालयहरू रित्तिँदै भएको पछिल्लो अवस्थामा चेपाङ बस्तीको बिचमा रहेको उक्त विद्यालयमा भने विद्यार्थी सङ्ख्या उत्साहजनक रहेको बताउनुभयो ।

विद्यालय शिक्षाको सुधार तथा गुणस्तर वृद्धिमा सरकारको ध्यान जानु पर्नेमा जोड दिनुभयो । भौतिक विकास र चेतना स्तरमा सुधार ल्याउँदै शैक्षिक विकासमा लाग्नु पर्ने उहाँले बताउनुभयो । मुलुकलाई आवश्यक जनशक्ति उत्पादनका लागि व्यवहारिक र वैज्ञानिक शिक्षामा उहाँले जोड दिनुभयो ।

“हिजो विद्यालयमा विद्यार्थीहरू थिए, पूर्वाधार कमजोर थियो, सभामुख धितालले भन्नुभयो, आज विद्यालयहरू भौतिक पूर्वाधारले सम्पन्न छन्, तर विद्यार्थीहरूको सङ्ख्या घटिरहेको छ, गाउँका विद्यालयहरूलाई विद्यार्थी जोगाउनै मुस्किल छ, यो गम्भीर चिन्ताको विषय हो ।” सुविधाका लागि मानिसहरू गाउँबाट सहर केन्द्रित बसाइसराई गर्ने क्रम बढेका गाउँहरू खण्डहर बन्दै गएको प्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो । गाउँ गाउँमा विकासको मूल फुटाउन जरुरी रहेको उहाँले बताउनुभयो । आफू त्यस क्षेत्रको प्रतिनिधि समेत भएको उल्लेख गर्दै उहाँले विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

गण्डकी गाउँपालिका वडा वडा नं. १ का वडा सदस्य कमान सिङ चेपाङले चेपाङ समुदाय अझै पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । समुदायको सशक्तीकरण तथा उत्थानका लागि राज्यको ध्यान नपुगेको उहाँले बताउनुभयो । चेपाङ समुदायले जीवनयापनका क्रममा निकै कष्टहरू झेल्नु परेको सुनाउँदै उहाँले राज्यको तर्फबाट आवश्यक सहयोग तथा अर्थोपार्जनका गतिविधिहरू सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो ।

विद्यालयको ४१ औँ वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो । यसअघि विद्यालयको वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार