जुवातास खेलिरहेको अवस्थामा कास्की, भक्तपुर, दाङ र झापा लगायतका जिल्लाका ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका ४ फिर्केस्थित धादिङ खनियावास घर भएका ६४ वर्षीय रक्चा तामाङको लामा होटलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ लगायत ११ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ हजार ४ सय ७४ रुपैयाँ र १ सय ४ पत्ता तास सहित पक्राउ गरेको हो ।
यस्तै भक्तपुर चाँगुनारायण नगरपालिका ६ नगरकोट बस्ने ४१ वर्षीय विरस तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

उता दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने ६८ वर्षीय गन बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ५ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै झापाको दमक नगरपालिका–७ हाटखोला बस्ने ४० वर्षीय कर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८ हजार ९५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।



