कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ । लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो ।
१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन् । सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन् ।
कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो। अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन् ।
यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो। चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए। अर्का भने ट्रान्जिटमै अड्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार