कोलिन फिलिप स्मिथ नाम गरेका ब्रिटिसका नागरीकलाई नेपाल सरकारले सम्मानार्थ नेपाली नागरीकताको प्रमाण पत्र प्रदान गरेको छ । वि.स १९९३ सालमा लन्डनमा जन्मिएका स्मिथ नेपालमा निकै लामो समयदेखी स्थाई रुपमा बसोबास गर्दै आएका छन् । पुतलि बाजेका नामले परिचित उनलाई नेपालको संविधानको धारा ११ को उपधारा (९), नेपाल नागरीकता ऐन २०६३ को दफा ६ र नेपालनागरीकता नियमावली २०६३ को नियम ८ को उपनियम ५ मा गरिएको व्यवस्था अनुसार नेपालको सम्मानार्थ नागरीकता प्रदान गरिएको हो ।
पोखरा १८ मा बासोबास गर्दै आएका स्मिथलाई नागरीकता उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदको २०७६ कार्तिक २९ गते बसेको बैठक तथा मंसिर ११ गते गृहमन्त्री स्तरमा समेत निर्णय गरिएको थियो । स्मिथलाई नागरिकता नंं ०१÷०७६÷०७७ को सम्मानार्थ नागरीकता प्रदान गरिएको गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले जानकारी दिनुभयो । नेपालको सम्मानित नागरीकका रुपमा नागरीकता प्राप्त गर्ने स्मिथ तेस्रो व्यक्ती बनेका छन् । यसअघि सगरमाथा आरोही सर एडमण्ड हिलारी र भुगर्भविद् टोनी हेगनलाई सम्मानार्थ नागरीकता प्रदान गरिएको थियो । पुतलि बाजे भनिने स्मिथले नेपालमा पाईने ६६० प्रजातिका पुतलि मध्ये ५५० प्रजातिका २५ हजार फोटोहरु संकलन गरेका छन् ।




