कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताउनुभएको छ । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताउनुभएको हो । उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पार्नुभयो । चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदै तल्ला कमिटीसम्म एकढिक्का भएको भन्दै खुशी प्रकट गर्नुभयो ।
आफ्नो उम्मेदवारीले पार्टी, जनता र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उहाँले दावी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो । नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार पौडेलले बताउनुभयो । उहाँले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गर्नुभयो । उम्मेदवार पौडेलले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको बताउनुभयो । ७४ वर्षका कांग्रेस उमेद्वार पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।




