पोखरा, जेठ ।
टीभीएस अपाचे चौथो पोखरा स्पोट्र्स अवार्ड—२०७५ को मनोनयन वितरण गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गन्डकीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३/३ जनालाई मनोनयन वितरण गरेको हो ।

यसपटक वर्ष खेलाडी पुरुषतर्फ स्क्वासका अमृत थापा, पाराग्लाइडिङका युकेश गुरुङ र फुल कन्ट्याक्ट कराँतेका रुपक नेपालीलाई मनोनयन वितरण गरेको हो । यस्तै वर्ष खेलाडी महिलातर्फ सफ्ट टेनिसकी प्रीति बराल, सुटिङकी श्रेया केसी र फुल कन्ट्याक्ट कराँतेर्की सुष्मी श्रेष्ठलाई पनि मनोनयन वितरण गरिएको छ ।

वर्षको उदीयमान खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, आर्चरीकी अनुष्का शेरचन र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर तथा उत्कृष्ट प्रशिक्षकमा फुल कन्याक्ट कराँतेका दीपक गोदार, ह्यान्डबल भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठकलाई मनोनयन वितरण गरिएको मंच गण्डकीका अध्यक्ष एकराज गिरिले बताउनुभयो ।

मञ्चले यसपटक लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका खेलाडी चित्रबहादुर गुरुङलाई प्रदान गर्नेछ । वर्ष खेलाडी पुरुषलाई एउटा टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई एउटा वीगो स्कुटरसहित अवार्ड दिइनेछ । उदीयमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिने मंचले जनाएको छ ।

नयाँ खेलाडीहरुको प्रोत्साहन तथा पुराना खेलाडीहरुको सम्मान स्वरुप मंचले वर्षेनी पोखरा स्पोर्टस अवार्ड गर्दै आईरहेको बताएको छ । कास्की जिल्लामा सिमति अवार्ड अय वर्षदेखी प्रदेश स्तरमा गर्न लागिएको हो ।




