पोखरा महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने चार जना तरबुजा कृषकहरूलाई महानगरपालिकाले सम्मान गरेको छ । ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक बाघमारा पशुपालन तथा कृषि फर्म पोखरा ३३ तिखेढुंगाका सञ्चालक कृषक रमेश आचार्यलाई नगद रु.१० हजार सहित प्रमाणपत्र र २४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृष्ति हिल कृषि तथा पशुपंक्षि हल फर्म पोखरा २१ का सञ्चालक ज्ञान बहादुर कार्कीलाई नगद रु.७ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै २२ रोपनी क्षेत्रमा तरबुजा खेती गर्ने एस बराल कृषि फर्मका सञ्चालक सुन्दर बराललाई नगद रु.५ हजार सहित प्रमाणपत्र र २० रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने मणिदिप कृषि फर्म पोखरा १३ का सञ्चालक श्रीधर बराललाई नगद रु.३ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तरबुजा मेला २०८३ का अवसरमा सम्मान प्रदान गर्नुभएको हो ।
यसले कृषकहरूलाई प्रोत्साहन मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कृषकहरूको उत्पादनलाई बजारको ग्यारेन्टी गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.१३ को आयोजनामा तरबुजा मेला २०८३ सम्पन्न गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।



