गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि उनले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी छन् ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेरअघि नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टर सहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ । उनीहरुको ठाउँमा नयाँ टोलीलाई खटाइएको छ ।
सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ ।



