तेइसौँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मङ्गलवारदेखि सुरु भएको छ । आयोजक साहारा क्लबका अनुसार प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । यस वर्ष भुटानको पारो फुटबल क्लब विदेशी टिमको रूपमा सहभागी छ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, सङ्कटा, चर्च ब्वाइज, एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार, भुटानको पारो फुटबल क्लब र आयोजक सहारा सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा थ्री स्टार क्लबसँग पराजित भएको छ । थ्री स्टारले सहारालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । जीतसँगै थ्री स्टार अन्तिम आठमा प्रवेश गरेको छ, भने सेमिफाइनल प्रवेशका लागि शनिवार भुटानको पारो फुटबल क्लबसँग खेल्नेछ । प्रतियोगितामा बुधवार त्रिभुवन आर्मी र राइजिङ स्टार बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस बर्सदेखि प्रतियोगिताको संरक्षकका रूपमा महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो । नेपाल कै एक बहुचर्चित फुटबल प्रतियोगिताको दिगोपना र पोखरा खेल पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि महानगरपालिकाले यो कदम उठाएको उहाँले बताउनुभयो । आयोजक संस्थासँगको सहकार्यमा यस प्रतियोगितालाई थप जीवन्त बनाउन स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सबै दायित्वहरू पुरा गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो ।

प्रतियोगिताको विजेताले नगद रु.१२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । साथै सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटर फाइनल खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ ।
खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा विकास गरौँ भन्ने उद्देश्यका साथ दुई दशक लामो समयदेखि पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।



