पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर भित्र निर्मित संरचनाहरू ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” अनुसार खोलाघर भित्र परेका सवै खाले संरचनाहरू ३५ दिनभित्र हटाउन महानगरपालिकाले निर्देशनात्मक सूचना जारी गरेको हो ।
महानगरद्वारा जारी सूचनामा भनिएको छ, “पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ ।” खोलाघर भित्रका संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने निर्देशनात्मक सूचनामा जनाइएको छ ।

फिर्केखोलाकोे खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलले दिएको प्रतिवेदन अनुसार खोलाघर माथि स्थायी र अस्थायी प्रकृतिका १६० संरचनाहरू निर्माण भएको पाईको छ । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू बनेका छन् भने, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू बनाइएका छन् ।

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमा स्तम्भहरू गाडिएका छन् । प्रतिवेदन अनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरू रहेका छन् ।
फिर्के तथा बुलौदी खोला हुँदै फेवातालसम्म पुगेका प्लास्टिकजन्य फोहोर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन सङ्कटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ । खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।

खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघर मै मापदण्ड विपरीत पक्की संरचनाहरू निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, सहरी तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरूको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रूपमा देखिएको, खोला छेउमा रहेका सार्वजनिक तथा प्रतिजग्गाहरू निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनै पनि प्रकारका विपत्तिहरूमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरूको अभाव हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।
खोला आसपासमा हुने भौतिक निर्माणको कार्यलाई तत्काल रोक्का गरी सचेतना सहितका सरसफाइ अभियानहरू सञ्चालन गर्न, वातावरणीय सुधारका लागि थप क्रियाकलापहरू गर्न, क्लिन पोखरा ग्रिन पोखराको अभियानलाई प्रभावकारी रूपमा अगाडी बढाउन, सफा पोखरा अभियान मार्फत स्वयंसेवालाई प्रोत्साहन गरी नागरिक अभियानहरू सञ्चालन गर्न प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनले सम्पदाको संरक्षणमा उचित मार्ग निर्देशन प्रदान गरेको छ ।

अल्पकालीन तथा दीर्घकालीन पर्यटन पूर्वाधारहरू निर्माणका लागि ठोस योजनाहरू लागु गर्न, प्लास्टिक निषेध कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, विद्यालय स्तरमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्न, पर्यावरणको संरक्षणका लागि मानवीय सचेतना अभिवृद्धि गर्न, विभिन्न स्थानमा पार्कहरू निर्माण गर्न, आवतजावतका लागि सहज पहुँचमार्गहरु विस्तार गर्न, ठाउँठाँउमा चेकड्यामहरु निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरू विकास गरी पैदल तथा साइकल ट्रयाकहरु निर्माण गर्न सुझाइएको छ ।
जलचर तथा स्थलचर प्राणीको वासस्थान सुरक्षित गर्न खोलाको पानीलाई सुद्धिकरण गरी खोलामा जथाभाबी रूपमा मिसाइने गरेको रसायनयुक्त विषाक्त पानीलाई रोक्न, प्राणी जीवनको रक्षा तथा जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न खोलाछेउमा हुने निर्माण कार्यहरूलाई निरुत्साहन गर्न, फिर्केसँग जोडिएका सार्वजनिक जग्गाको संरक्षण गरी भविष्यमा आउन सक्ने विपत्तिहरूमा प्रयोग गर्ने गरी खुला स्थानहरूको विकास गर्नु, खोलाछेउमा सञ्चालनमा रहेका ग्यारेज तथा अटोपार्टस्हरु, कवाडी सङ्कलन केन्द्रहरू तत्काल स्थानान्तरण गरी ती ग्यारेज तथा अटोपार्टस्हरु, कवाडी सङ्कलन केन्द्रहरूबाट निस्कने रसायनलाई फिर्केखोलामा मिसिने कार्यलाई रोक्नु पर्ने प्रतिवेदनले सुझाएको छ ।

प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्त्वपूर्ण दस्ताबेज तयार भएको बताउनुभएको थियो । दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्बद्ध र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको योजना रहेको छ ।



