एसिड आ-क्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आ-क्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसका लागि प्रधानमन्त्री केपी शर्माओलीले तेजाब पीडितहरूले माग गरे अनुरूप अमानवीय र जघन्य अ-पराधका दोषीमाथि कारबाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ कानुन बनाइने जानकारी दिएका थिए । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले अपराधीको सम्पतत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका छन् । देशभरि एसिड आ-क्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् ।
हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आ-क्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् । सभ्य समाज निर्माण गर्न सरकारले एसिड आ-क्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त पारेका छन् । नेपालमा एसिड आ-क्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।




