नेपाल सरकारको प्राथामिकता प्राप्त र एक सफल कार्यक्रम भनिएको राष्ट्रिय खोप कार्यक्रमका सम्बन्धमा सम्वद्ध अधिकारीले त्यसको उपलब्धि प्रति चिन्ता व्यक्त गरेका छन् । जन्मदेखी ९ महिना भित्र लगाउनु पर्ने खोप ८० प्रतिशत र १५ महिना भित्र लगाउनु पर्ने खोपमा अनुमान गरिएको जस्तो उपलब्धि हात नलागेपछि स्वास्थ्य सेवाको क्षेत्रका क्रियाशिल ति अधिकारीहरुले गहिरो चिन्ता व्यक्त गरेका हुन् । बिहिबार पोखरामा आयोजित राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा रुवेला खोप अभियान सम्बन्धी सरोकारवाला निकायहरु बीचको अन्तरक्रिया कार्यक्रममा खोप सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै बाल स्वास्थ्य तथा खोप सेवा, परिवार कल्याण महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले नेपालमा खोप बारे आवाश्यक सचेतनाको अभावका कारण तोकिएका उपलब्धिहरु हाषिल गर्न नसकिएको बताउनुभयो । तर, अभियानका क्रममा खोप कार्यक्रममा नागरीकहरुको सहभागीता उल्लेखनिय रहने गरेको भएपनि यसको निरन्तरतामा समस्या रहेको डा.गौतमले बताउनुभयो ।

यस्तै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अधिकृत भरत भण्डारीले मुलुकको सवै क्षेत्रमा समान ढंगले खोप सेवा कार्यक्रम प्रभावकारी ढंगले सांचालनमा समस्या रहेका कारण घातकरोगहरु उन्मुलनको अभियानमा कठिनाई भैरहेको उल्लेख गर्नुभयो । तर, कयौन चुनौतीका बाबजुत पनि नेपाल सरकारले विभिन्न ११ प्रकारका खोपहरु गर्भवति आमा र १५ महिना सम्मका बालकालिकाहरुलाई निशुल्क उपलब्ध गराईरहेको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार खोप कार्यक्रममको थप प्रभावकारीताका लागि प्रत्येक स्थानिय तहहरुले सुक्ष्म तथा तत्काल काम थाल्नु पर्नेछ । साथै राष्ट्रिय खोप कार्यक्रमको पुर्ण सफलताका लागि राजनीतिक प्रतिवद्धताको आवाश्यकतामा उहाँले जोड दिनुभयो ।

यसैविच सरकारले आगामी फल्गुन र चैत्रमा दुई चरण गरि खोप कार्यक्रम संचालन गर्ने भएको छ । पहिलो चरणमा फल्गुन १ गतेदेखी ३० गतेसम्म प्रदेश नं. १, २ र ५ का ३४ जिल्ला तथा दोसा्रे चरणमा चैत्र १ गतेदेखी ३० गतेसम्म गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा दादुरा रुवेला र पोलियो खोप कार्यक्रम संचालन गर्ने तयारी गरिएको हो । उक्त अभियानका क्रममा ९ महिना देखी ५ वर्ष मुनिका ३० लाख बालबालिकाहरुलाई दादुरा रुवेला तथा जन्मेदेखी ५ वर्ष मुनिका १५ लाख बालबालिकाहरुलाई पोलियो खोप लगाउने लक्ष्य रािखएको छ । सोही अवसरमा तराईका १९ जिल्लामा जन्मेदेखी ५ वर्ष मुनिका बालकालिकाहरुलाई पोलियो थोपा समेत खुवाउने कार्यक्रम रहेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार