इङ्ल्यान्डमा जारी आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा सातौं खेल सकिँदा उपाधि दाबेदार मानिएको भारत आज पहिलो खेल दक्षिण अफ्रिकाकाविरुद्ध खेल्दैछ । सात खेलमा प्रतिद्वन्द्वीको नतिजालाई नियालेको फ्रेस टोली भारत विजय लक्ष्यका साथ दक्षिण अफ्रिकाकाविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ बजे साउथह्याम्पटनस्थित द रोजमा सुरु हुनेछ । उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद चोटमासमेत ग्रसित दक्षिण अफ्रिकामाथि भारतको लक्ष्य उत्कृष्ट जित हो । तर पराजित भएपनि रन राम्रो बनाएको दक्षिण अफ्रिका भारतमाथि जित निकाल्दै विश्वकपमा पहिलो विजय हासिल गर्ने योजनामा छ । भारतसँग खेल्नु एकदिनअघिमात्र मंगलबार अफ्रिकाका डेल स्टेन टोलीबाट बाहिरिँदा दक्षिण अफ्रिकालाई केही असहज हुन सक्ने अनुमान गरिएपनि सुरुआतका खेलमा गरेको प्रदर्शनले खासै प्रभाव नपर्ने विश्लेकषहरुले बताएका छन् ।

अनुभवी खेलाडी सम्मलित भारत तेस्रो विश्वकपको उपाधिका लागि सुरुआत नै रोमान्चक बनाउन चाहान्छ । त्यसैमा टोलीका कप्तान बिराट कोहलीले इङ्ल्यान्ड आफ्नै घरेलु मैदानजस्तै रहने बताएका छन् । उनले ५० प्रतिशत भारतीय सकर्थक रहेकाले पनि टोलीलाई केही दबाब नरहेको उद्घाटनमा बताएका थिए । दक्षिण अफ्रिकाविरुद्ध भने कप्तान कोहली जतिसक्दो फाइदा उठाउने लक्ष्यमा छन् । आजैको खेलबाट रणनीतिसमेत तयार हुने उनको भनाई छ । अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले भने चोटका कारण केही समस्या हुन सक्ने बताएका छन् । अनुभवी खेलाडी बाहिर हुँदा दबाब अवश्य नै हुने कप्तान प्लेसिसको भनाइ छ । यि दुई टोलीबीच पछिल्ला पाँच भेटमा भारतभन्दा दक्षिण अफ्रिकाको नतिजा राम्रो छ । भारत पाँचमध्ये २ खेलमा विजय हुँदा दक्षिण अफ्रिका ३ खेलमा विजय छ ।
विश्वकपमा पनि भारतविरुद्ध दक्षिण अफ्रिका नै हाबी छ । अहिलेसम्म चारपटक आमनेसामने हुँदा अफ्रिका ३ खेलमा विजयी छ भने भारतले एकखेलमा मात्र जित निकालेको छ । १९९२ मा पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्दा पछिल्लो समय २०१५ को विश्वकपमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । भारतको सम्भावित टोलीः रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, महेन्दसिँह धोनी, केदार जाधब, हार्दिक पाण्डेय, रविन्द्र जडेजा तथा युज्वेन्द्र चहाल, भुवनेश्वर कुमार अथवा मोहम्मद शमी, कुलदिप यादब र जसप्रित बुम्रराह छन् । दक्षिण अफ्रिकाको सम्भावित टोलीः क्लिन्टन डि कक, हासिम अमला, फाफ डु प्लेसिस, डुसेन, मार्करम, डेबिड मिल्लर, जेपि डुमिनी, एन्डील, क्रिस मोरिस, कागिसो रबडा र इमरान ताहिर छन् ।
आज दुई भेट्रान खेलाडीको प्रदर्शनबारे पनि समर्थकमा चासो छ । विश्वकप क्रिकेटको उदरार्धमा रहेका अफ्रिकाका इमरान ताहिर र भारतका महेन्दसिँह धोनीको प्रदर्शन हेर्नलायक हुने अनुमान गरिएको छ । दुबैका लागि सम्भवतः यो नै अन्तिम एकदिवसीय विश्वकप हुनेछ ।




