पोखरा २४, माघ ।
प्रतिकुल मौसमका कारण विहिबार पोखरामा हुने साहसिक खेल गतिविधि सहितका हवाई उडानहरु प्रभावित भएकाछन् । विहिबार विहानै देखि पानी परी राम्रोसंग आकास खुल्न नसके पछि पर्यटनको मुख्य आकषर्ण साहसिक खेल प्याराग्लाईडिङ, अल्ट्रालाईट लगायतका साहसिक खेल सहित हवाई उडान रद्ध भएको हो ।
विहिबार प्रतिकुल मौसमका कारण ६ वटा हवाई उडान रद्ध भएको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोला प्रसाद गुरागाँईले बताए । उनका अनुसार विहिबार २२ वटा हवाई उडान मध्य १६ वटा उडान मात्र भएका हुन्। यति एयरलायन्स र बुद्ध एयरलायन्सको ६ वटा हवाई उडान गद्ध भएका हुन् ।


यति एयरलायन्सको पोखरा काठमाण्डौं ३ वटा र बुद्ध एयरलायन्सको पोखरा भैरहवा एउटा र पोखरा काठमाण्डौंका दुई वटा हवाई उडान रद्ध भएको हो । रद्ध भएको हवाई उडान सुक्रबार अनुकुल मौसम भएको अबस्थामा पहिला हुने त्यस पछि शुक्रबारको फ्लाईट तालिका सवैको डिले डिले हुने भएको प्रमुख गुराँगाईले जनाए ।
त्यसै गरी प्रतिकुल मौसमका कारण पोखरा मुस्ताङको हवाई उडान समेत रद्ध भएको छ । तारा र समिट एयरले दैनिक १÷२ वटा हवाई उडान गर्दै आएका थिए । विहिबार विहानै देखि पानी परी आकास राम्रोसंग खुल्न नसके पछि पोखरामा हुदै आएको अल्ट्रालाईट तथा हेलिकोप्टर उडानहरु समेत रद्ध भएको छ ।
पोखरामा दैनिक जसो करिब १५/२० वटा अल्ट्रालाईट र हेलिकोप्टरबाट पोखरा सहित हिमश्रृखलाको दृश्यावलोकनको लागि उडान हुदै आउने गरेको छ ।
त्यसैगरी पोखरामा हुने साहसिक खेल प्याराग्लाईडिङका उडानहरु समेत विहिबार प्रतिकुल मौसमका कारण प्रभावित भएकाछन्। पोखरामा दैनिक जसो करिब २ सय ५० पाईलटले ४ सय जना पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउदै आएको नेपाल प्याराग्लाइडिङ ग्लाण्डग्लाईडिङ संघ (नेफा) का प्रशिक्षक बालकृष्ण बसेलले बताए ।
रद्ध भएका केहि उडान शुक्रबार हुने केहि शुक्रबारकै सेडुल अनुसार हुने उनले जनाए । पोखरामा एक दिन प्याराग्लाईडिङ नहुदा करिब २० लाख भन्दा बढीको कारोवार ठप्प हुने गरेको व्यवसायीहरु बताउछन। प्रति जनाले प्याराग्लाईडिङ गरेको ५ हजार देखि ८ हजारसम्म लिने गरेको पाईन्छ ।
पोखरामा विहिबार दिनभरी पानी परेसंगै चिसो बढेको छ । पोखरामा अन्य दिनको तुलनामा विहिबार चहल पहल समेत कम भएको थियो ।



