भारतबाट थप १० लाख डोज खोप नेपाल आईपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । यसैबिच शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरण मै खोप दिने निर्णय गरेको हो ।
उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् । यस्तै महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।




