पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष ढा.बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् ।
पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।
उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।




