गण्डकी प्रदेशमा हालसम्म लक्ष्य भन्दा धेरै १८ हजार ४७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार हालसम्म प्रदेशका ७ हजार ५८५ जना स्वास्थ्यकर्मी, २ हजार ५६८ जना स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र ४ हजार ४४५ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि खोप दिईएको छ ।
यसअवधिमा ५६७ जना सरसफाईकर्मी, १५६ जना चालक, १५२ जना सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ४७१ जना, कारागारमा रहेका १ हजार ९१३ जना र अन्य ९७ जना गरि गण्डकीका ११ जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १८ हजार ४७२ पुगेको हो ।
खोप लगाउनेहरुमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढि छ । विवरण अनुसार ११ हजार ४५९ जना महिलाहरुले कोरोना विरुद्धको खोप लिईसक्दा ७ हजार १३ जना पुरुषहरुले मात्र खोप लगाएका छन् । सवैभन्दा धेरै कास्कीका ३ हजार ४१२ जना स्वास्थ्यकर्मी र १ हजार ७०८ जना स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले खोप प्राप्त गरेका छन् ।
यसअवधिमा १७ हजार १९५ डोज खोप लगाउने लक्ष्य लिईएकामा लक्ष्यभन्दा बढि १०७ प्रतिशत उपलब्धि हासिल भएको निर्देशक विनोद विन्दु शर्माले बताए । गोरखाको चुननुव्रि र धार्चेमा हेलिकोप्टर मार्फत खोप पुर्याईएको छ । कोरोनाको खोप लगाएपछि कुनै पनि प्रकारका अवान्छित घट्नाहरु नभएको निर्देशनालयले जनाएको छ ।
नेपालमा हाल भारत सरकारले उपलब्ध गराएको १० लाख डोज मध्येको खोप लगाउने अभियान जारी छ ।




