गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खोप व्यवस्थापनका लागि तिनै तहका सरकारहरु बिच आवश्यक समन्वय भैरहेको बताएकी छिन् । पोखरा सभागृहमा बसेको प्रदेश सभाको विशेष अधिवेसनमा पेश भएको संकल्प प्रस्तावका विषयमा बोल्दै मन्त्री पुनले कोरोना खोपको भण्डारणको लागि आवश्यक व्यवस्थापन गर्ने गरि योजना बनाईएको जानकारी दिईन् ।
कोरोना भाइरस विरुद्धको खोप प्रदेशमा प्राप्त भएपछि वितरणका लागि फ्रिज सहितको ट्रक समेत तयार गरिएको उनले बताईन् । पहिलो चरणका लागि जिल्लामा भएको भ्यास्किन भण्डारको क्षमताले पुग्ने र दोस्रो चरणमा प्राप्त हुने खोपका लागि पोखरामा एक एक वटा भण्डारण स्थापना गर्ने गरि योजना बनाईएको उनले जानकारी दिईन् ।
भ्याक्सिन प्राप्त भएपछि भण्डारण, धुवानी र वितरणका लागि सरोकारवाला स्वास्थ्यकर्मी तथा साझेदारहरुलाई आवश्यक अभिमुखिकरण गरि खोप सेवा प्रदान गर्ने योजना रहेको उनले बताईन् ।




