नेपाली कांग्रेसले आफ्ना सदस्य डिल्लीबहादुर चन्दलाई रिहा गर्न माग गरेको छ । नेपालगञ्जमा गिरफ्तार गरि काठमाडौ पुर्याइएका चन्दलाई कांग्रेसले तत्काल रिहाई गर्न माग गरेको हो ।
एक विज्ञप्ती जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, “कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश लयाउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् ।”
शर्माले त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था रहेको सुझाएका छन् । तर उक्त कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको शर्माको बुझाई छ ।
पुर्व प्रहरी समेत रहेका चन्द स्थानीय एक निजि क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका व्यक्ति भएको कांग्रेसले जनाएको छ । सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय भन्दै कांग्रेसले नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गरेको हो ।




