पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र सञ्चालनमा रहेका (कक्षा ११) सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तोकिए बमोजिम विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न सूचित गरेको छ ।
२०८३ वैशाख ३० देखि ज्येष्ठ ०८ गतेसम्म सम्बन्धित विद्यालयबाट एसइई उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरू मात्र भर्ना गर्ने, ज्येष्ठ ११ गतेदेखि आफ्ना विद्यार्थीहरू भर्ना गरिसकेपछि बाँकी कोटामा खुला भर्ना प्रक्रिया अगाडी बढाउने र यसरी विद्यार्थी भर्ना गर्दा संस्थागत विद्यालयहरूले महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्ति कोटा सुरक्षित राख्नु पर्नेछ ।
महानगरपालिकाको शिक्षा नियमावली, २०७४ र पोखरा महानगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७५ मा जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइते, बेपत्ता तथा शहिद परिवारका सन्ततिहरूलाई संस्थागत विद्यालयहरूमा कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत अनिवार्य छात्रवृत्तिको व्यवस्था छ ।

सोही बमोजिम महानगरपालिकाले यही वैशाख ३० गतेदेखि ज्येष्ठ ६ गतेसम्म तोकिएका कोटामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने लक्षित वर्गका छात्रछात्राहरूलाई आवेदन दिन अनुरोध गरेको छ । यसरी प्राप्त आवेदनका आधारमा छात्रवृत्ति छनौट परीक्षा वैशाख ९ गते शनिबार बिहान ८ बजे जनप्रिय मावि, जनप्रिय क्याम्पस, छोरेपाटन मावि, बाराही मावि, तालबाराही मावि, श्रीकृष्ण माविमा सञ्चालन हुनेछ ।
कमजोर आर्थिक अवस्थाका कारण एसइई पश्चात् आफ्नो अध्ययनको निरन्तरतामा असमर्थ विद्यार्थी तथा अभिभावकहरूका लागि यस प्रकारको छात्रवृत्ति कार्यक्रमले निकै ठुलो राहत मिल्ने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । छात्रवृत्ति प्राप्त गर्न योग्य आवेदकहरूले मात्र आवेदन दिई कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनमा सहयोग गरिदिन नगर प्रमुख आचार्यले आग्रह समेत गर्नुभएको छ । छात्रवृत्ति छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।



