बैतडीको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के.पी.शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता विश्व पकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी.साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ ।”
प्रवक्ता शर्माले सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्व कै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको ठहर गरेका छन् । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेसले डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ ।




