नेपाली कांग्रेसले ‘सामाजिक संजाल ब्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागिएको भन्दै सजग बन्न युवा पुस्तालाई विशेष अपील गरेको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।”
साथै सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन नसक्ने र त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेका कांग्रेसले जनाएको छ । थप व्यवस्था आवश्यक भए वृहत्तर विमर्श नगरि संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न खोज्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको उसले बताएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने, नमिल्ने र नपाईने विज्ञप्तीमा उल्लेख छ ।

“प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ । विज्ञप्तीमा प्रवक्ता शर्मा लेख्छन्, सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।”
अभिव्यक्ति स्वतन्त्रता माथीको सरकारले बन्देज लगाउन खोजेको कांग्रेसको आरोप छ । केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले सरकार समाजिक संजाल संचालन निर्देशिका जारी गर्ने तयारीमा रहेको जनाएका थिए ।




