प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दैछ । यसअघि नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
बैठक बस्नुअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।
भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरे सहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।
नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए । उनले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क गरे ।
तर, प्रचण्ड माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले भने १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताएका छन् । नेता आङ्बो आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताउँछन् ।




