पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित एक कार्यक्रमका बिच गीतिसङ्ग्रह “लकडाउन—१२०” सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै प्राज्ञ हरिदेवी कोइरालाले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना कहरले पत्रकारिता र सञ्चारकर्ममा संलग्न राजाराम पौडेलको दैनिकीमा परिवर्तन ल्याएको बताईन् । परिणाम स्वरुप कोइरालाले साहित्य र कलाको रुचीले आज मूर्त रुप लिएको उल्लेख गरिन् । उनले भनिन्,“राजारामको लकडाउन एउटा सुन्दर सिर्जनामा परिणत भयो । मानवीय भोगाइ र संवेदनाहरु अक्षर—अक्षरमा गीत, गजल र कविता बनेर पोखिए ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले राजाराम एक सालिन र सरल व्यक्ति भएको उल्लेख गरे । पत्रकारलाई आजदेखि गीतकारका रुपमा पनि परिचित गराउँन पाउँदा आफुलाई खुशी लागेको उनले बताए । राजारामका गीतहरुलाई रेकर्डिङका माध्यम बजारमा ल्याउन आफुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको थियो ।
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले राजारामले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेको बताए । सफल गीतकार समेत रहेका बिजीले आफुले चाहेर पनि लकडाउनमा सिर्जनालाई किताबको रुप दिन नसकेको तर राजाराम एक उदाहरणका रुपमा प्रस्तुत भएको उल्लेख गरे । उनले पौडेलको “लकडाउन —१२०” लाई सफल पार्न प्रतिष्ठानले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राजाराम समयलाई व्यवस्थापन गर्न सक्ने पत्रकार भएको बताए । उनले भने,“राजाराममा समय व्यवस्थापनको खुबी छ । राजाराम एक पत्रकार त हुँदै हुन् । त्यो सँगसँगै उनी कास्की जिल्ला अदालतका जागिरे समेत हुन् ।” जागिर र पत्रकारिता सँगै सिर्जनामा पनि लाग्नु राजारामको विशेषता भएको उनले बताए । पोखरामा रंगपत्रकारितामा राजारामले सबै भन्दा धेरै कलम चलाएको तर्क उनको थियो । एउटा पत्रकारले गीतिसङ्ग्रह सार्वजनिक गरेको देख्दा आफु हर्षित भएको श्रेष्ठको भनाई थियो ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले थिएटरको शुरुवाती समयदेखि नै राजाराम पौडेलको राम्रो साथ मिलेको बताए । उनले पौडेललाई मृतभाषीका रुपमा समेत परिचित गराए । सबैसँग मिल्ने क्षमता राजाराम पौडेलको विशेषता भएको उनले उल्लेख गरे । काम प्रतिको लगनशिलता र समय व्यवस्थापनको खुबीले नै राजाराम आज पत्रकार सँगै गीतकारको ट्याग भिर्न सफल भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पत्रकार तथा गीतकार राजाराम पौडेलले आफुमा पहिल्यै देखि लेख्ने कला हुँदाहुँदै पनि विविध कारणबस पुस्तकका रुपमा प्रकाशित गर्न नपाएको जानकारी गराए । लकडाउन आफ्नालागि एक अवसरको रुपमा साबित भएको उनले बताए । गीतिसङ्ग्रहलाई बिमोचन प्रक्रियासम्म ल्याउन साथ दिने सबैलाई उनले धन्यवाद दिएका छन् । आगामी समयमा समेत नयाँ सिर्जनालाई पस्कदै जाने प्रतिबद्धता उनको छ ।


राजारामको सार्वजनिक कृतिका विषयमा कवि साहित्यकार लेखक जीवनसागर भण्डारीले समिक्षा गरेका थिए । उनले कृतिमा भएका आरोहअवरोहलाई मसिनो गरी केलाएका थिए भने राजारामको परिचय रमेश गिरीले दिएका थिए । कार्यक्रममा पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भूजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
२०४२ सालमा पोखरा २८ कालिका कास्कीमा जन्मिएका राजारामको “लकडाउन—१२०” (गीति सङ्ग्रह) पहिलो साहित्यिक कृति हो । आमसञ्चार तथा पत्रकारिता स्नातकोत्तर अध्ययन गरेका राजारामसँग कान्तिपुर पब्लिकेसन्स प्रालिसहित विभिन्न छापा तथा विद्युतीय माध्यममा गरी डेढ दशकको अनुभव छ । कला साहित्य बिटमा उनले पोखराबाट कलम चलाउँदै आएका छन् । पौडेल हाल रेडियो अन्नपूर्ण र पोखरा न्युज प्रालिमा आबद्ध छन् । उनी नेपाल पत्रकार महासंघ, चलचित्र पत्रकार सङ्घ कास्की, खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् ।


राजारामले १३ वर्षकै उमेरमा नेपाली कथानक चलचित्र “चमेली” मा बालकलाकारको रुपमा अभिनय गर्ने मौका पाए । दुई वर्षअघि बनेको चलचित्र “सुश्री सम्पत्ति” मा समेत उनको छोटो भूमिका छ । उसो त उनले कक्षा ५ पढ्दाताका नै नाटकमा अभिनय गरेका थिए । “तन्नेरी मन” रेडियो नाटकमा समेत अभिनय गरेको अनुभव पौडेल सुनाउँछन् । २०६० सालबाट उनको मिडिया क्षेत्रमा यात्रा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार