पोखरा १५ हरियोखर्क स्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग चोरी भएको छ ।
बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हड्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको क्याम्पसले जनाएको छ ।
१ हजार ३५० रोपनी क्षेत्रफलमा संस्थानको वन फैलिएको छ । १ सय ७६ रोपनीमा क्याम्पसका विभिन्न भवन निर्माण भएका छन् । संस्थानको मूलगेटमा सीसी क्यामरा जडान गरिएको छ । क्याम्पसको होस्टेलमा २ सय ५० विद्यार्थी बसिरहेका छन् । आवासमा अन्य कर्मचारी पनि बस्दै आएका छन् ।
क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा भएको औजार प्रयोग हुनु क्याम्पसभित्रैबाट कसैको संलग्नता भएको हुन सक्ने आशंकालाई बल पुगेको छ भने, अध्ययनका लागि राखिएको वन्यजन्तुका बहुमूल्य अंगहरु २ तले प्रयोगशाला भवनबाट चोरी भएकामा अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
संस्थानमा शुक्रबार राति नै चोरी भएको र शनिबार बिहानमात्र थाहा लागेको क्याम्पस प्रशासनले जनाएको छ । वन्यजन्तुको अंग ओसारपसारमा अनुभवी गिरोह कै सेटिङ हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीले शंकाको घेरामा परेका व्यक्तिहरुलाई बोलाएर वयान तथा कागज गराइरहेको र अनुसन्धानका अन्य संयन्त्रसँग पनि सहकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कार्यालयका कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताएका छन् ।
क्याम्पसमा सिसी क्यामरा जडान गरिएको भए पनि यसले सबै भवनलाई कैद गर्न सक्दैन,’ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस प्रमुख विनोद हेज्यू भन्छन्, आइटी ल्याबमा धेरै बहुमूल्य सामान भएकाले सीसी क्यामरा जडान गरिएको छ । तर, वाइल्डलाइफ र जुयोलोजी ल्याबमा सीसी क्यामरा जडान थिएन ।’
अध्ययनका लागि राखिएको क्याम्पसको प्रयोगशालाबाटै वन्यजन्तुको अंग चोरी हुन गम्भीर विषय हो । वन क्याम्पसको क्षेत्रफल र वनसमेत ठूलो भएकाले त्यही बाटो प्रयोग गरेर चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । वन्यजन्तुको बहुमूल्य अंगको तस्करीमा अन्तर्राष्ट्रिया सञ्जाल नै सक्रिय रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् ।




